हाम्रो बारेमा

विश्रान्ति वा विश्रान्तिधामको शाब्दिक अर्थ जीवनको उत्तरार्धमा विश्राम लिने स्थान भन्ने हुन्छ । जीवनको उत्तरार्ध भन्नु नै मृत्युपूर्वको विश्राम र मृत्यु पश्चातको विश्राम भन्ने हो । जीवनमा आइपर्ने अनेकानेक सांसारिक दुःख, प्रपञ्चबाट मुक्त हुन उत्तरार्धमा शान्ति प्राप्त गर्न र चीर शान्तिको अन्तिम तयारी र प्राप्तिको साश्वत पक्षको समष्टि नै विश्रान्ति हो ।
पौराणिक शास्त्रीय अवधारणा अनुरूप विश्रान्तिधामको माहात्म्य निम्न अनुसार रहेको छ ।
पवित्र कौशिकी गङ्गाको तटमा भगवान्को लीला र महिमाले परिव्याप्त विश्रान्ति तीर्थस्थान छ । अनादि कालदेखि ऋषिमुनिको तपस्थली र पितृमोक्षार्थ गरिने सबै कर्मका लागि यो विश्रान्तिधाम लोकप्रसिद्ध छ । अष्टदशमहापुराण मध्ये वृहदकाया श्रीमद्स्कन्द्महापुराणको हिमाद्रि खण्डमा
चैद्यदेशात्समायातो नदराजस्तथापरः ।
तमोरिनाम विख्यातस्तुहिनाचल भेदकः ।।
यःस्नाति मन्युजो भक्त्या सर्वपापैर्विमुच्यते ।।
भनेर चीन देशबाट बग्दै आएकी हिमालय नन्दिनी तमोरि अनेक पहाड पर्वत हिमश्रृङ्खलाहरूलाई भेदन गर्दै भूतलमा प्रकट भई तमोरि नामले विख्यात भएकी छन् भनिएको छ । जसले तमरिगंङ्गा (कौशिकी) मा गई स्नान, कल्पवास, अनुष्ठानादि, दान, जप, उपवास एवम् गरिएको धार्मिक कार्य अक्षय हुने पौराणिक मान्यता छ । उत्तरवाहिनी गङ्गा देउती (लेउती) दक्षिणबाट उत्तरतिर बग्दछिन् यिनलाई लीलावती नदी पनि भनिन्छ । यिनकै सङ्गममा हालको मूलघाट (विश्रान्ति) स्थान अवस्थित छ । यसै स्थानमा सत्य युगमा असुर संहार गरी पृथ्वीको उद्धार गरेर भगवान् विष्णुले विश्राम गरेको पौराणिक अभिलेख छ ।
वासुदेवो महाबाहुर्जगत्स्वामी जनार्दनः ।
विश्रामं कुरुते तत्र तेन विश्रान्तिसंज्ञिता ।। (व. पु. अ. १६७ श्लो. २८)
भगवान्का कृपा आशीर्वादले वि.सं. २०४० सालदेखि यसै स्थानमा विश्रान्ति मन्दिर नामक संस्था स्थापना भएको हो । पवित्र कौशिकी गङ्गाको तटमा अवस्थित “विश्रान्तिधाम” यहाँहरू सबै भक्त महानुभावहरूको पुण्यदानशीलताले फलीफूली राखेको छ । यसै परिसरमा दाहसंस्कारका लागि व्यवस्थित घाट निर्माण गरिएको छ । पितृस्तम्भबाट पितृमोक्षका लागि चार वाहुबाट टपरामा बोकिएको पिण्डमाथि अहोरात्र जलतर्पण गरिएको प्रतिरूप देख्न पाइन्छ । पितृकर्मका लागि यहीँ बसेर सम्पूूर्ण कर्म गर्न पाउने सुविधा आमजनसमुदायका लागि व्यवस्था गरिएको छ । पूजा, यज्ञ, विवाह, व्रतबन्ध, सबै माङ्गलिक कार्य एवम् देवपूजनका लागि विश्रामेश्वर महादेवको भव्य शिव पाञ्चायन मन्दिर अवस्थित छ । पञ्चशाला (यज्ञशाला, पाकशाला, पाठशाला, गौशाला र धर्मशाला) विश्रान्ति परिसरमा सञ्चालित छन् । असहाय एवम् ज्येष्ठ नागरिकहरूका लागि व्यवस्थित वृद्धाश्रम सञ्चालित छ । वैदिक शिक्षाद्वारा बालकहरूमा सच्चरित्र निर्माण गरी राष्ट्रलाई संवृद्ध बनाउन संस्कृत गुरुकुल सञ्चालनमा रहेको छ । स्कन्द पुराणमा यिनै तमर नदीको प्रशंङ्ग यसप्रकार रहेको छ –
दत्तं हुत्तं च कौशिक्यां जप्तं समर्पितं तथा ।
उपवासं च धर्मं च तत् सर्वं अक्षयं स्मृतम् ।। (हिमवत्खण्ड)
कौशिकीको तटमा गरेको दान, जप, उपवास एवं धार्मिक कार्य अक्षय हुने पौराणिक मान्यता छ । सबै दाता महानुभाव एवं आमजनहरूले विश्रामेश्वर महादेव र तमोर (कौशिकी) गङ्गाको तटमा धार्मिक एवं माङ्गलिक कार्य गरी पुण्य लाभ प्राप्त गर्नुहुन अनुरोध छ । जीवन भोगाइमा आवश्यक सास्वत शान्तिको अनुभुति गर्न सकिने प्रकारको वैकुण्ठ निर्माण हाम्रो अभियान हो । सबैको जीवनमा सुख–समृद्धि तथा आनन्द प्राप्तहोस् भनी विश्रामेश्वर महादेवको चरणमा बिन्ती गर्दछौँ । यि सबै प्रकारका प्रमाणको आधारमा शान्त, मनोरम, पवित्र तिर्थस्थल निर्माणको बाहिरी प्रस्तुती स्वरूप विभिन्न सनातन संस्कृति संरक्षण र मृत्युपश्चात गरिने पितृकार्य सम्मत भौतिक पूर्वाधार निर्माण समेत भएका छन् ।

धार्मिक, सांस्कृतिक, र ऐतिहासिक महत्त्व

यो स्थान अत्यन्तै पुण्यभूमी भएको व्याख्या श्रीमद्स्कन्दमहापुराण र बराह पुराणहरूमा रहेको प्रमाणहरू प्रस्तुत भइसकेका छन् ।
– पूर्वी पहाडी क्षेत्रको सबैभन्दा ठूलो, मुख्य वा मूल दाह गर्ने घाटहरू मध्येको मुख्य घाट भएका कारण यो ठाउँको नाम “मूलघाट” रहनु ।
– परम्परादेखि कुनै पनि तिर्थबाट फर्किएका तिर्थालुहरूले तिर्थबाट ल्याएका पूल, प्रसादी, भगवानका साना केही फोटाहरू सहित सादा जलतर्पण दिएपछि मात्र पितृहरूले मुक्ती पाउँछन् भन्ने धारणा रहेको र यहि स्थानमा आएर तर्पण गर्ने परम्परा रहेको थियो । परम्परादेखि तर्पण दिने गरेको एउटा ढुङ्गो छ । सो तर्पण ढुङ्गा हालसम्म विश्रान्ति परिसरमा रहेको छ । यो तर्पण ढुङ्गा विशेष प्रकारको रहेको छ ।
– वि.सं. २०४० सालदेखि संस्थागत रूपमा देवकार्य, पितृकार्य, सामाजिक गतिविधि, साँस्कृतिक गतिविधि, गुरुकुल, गौपालन, वर वगौंचा र करेसावारी सञ्चालन आदि रहेका छन् ।

लक्ष्य तथा उद्देश्य:

विश्रान्तिको लक्ष्य तथा उद्देश्य:
– महत्वपूर्ण र व्यवस्थित पितृ स्थल निर्माण भएको हुनेछ ।
– वृद्धग्राम निर्माण भएको हुनेछ ।
– संस्कृत धार तर्फको विद्यास्थलका रूपमा भव्य र सुविधा सम्पन्न गुरुकुल सञ्चालन भएको हुनेछ ।
– आध्यात्मिक चिन्तन थलो र विविध साँस्कृतिक साधना थलोको रूपमा विकास भएको हुनेछ ।
– धार्मिक पर्यटकीय स्थलका रूपमा विकास भएको हुनेछ ।
– मनमोहक, शान्त स्थल निर्माण गरी अन्तस्करणको अलौकिक शान्ति प्राप्ति अनुभुति भएको बताउने धेरै साधकहरू भेटिएका हुनेछन् ।

List item
List item
List item

सूचना सूचना सूचना

मिति २०८१ फागुन ४ गतेदेखि विश्रान्ति मन्दिर परिसरमा पहिलो पटक शिवमहापुराणको आयोजना भएको छ । यहाँहरू सम्पूर्ण विश्रान्तिप्रेमी भक्तहरूलाई हार्दिक निमन्त्रणा छ ।


This will close in 20 seconds